काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले धार्मिक सामाजिक सद्भाव कायम राख्न तथा मधेशमा शान्त वातावरण निर्माणका निम्ति नेपाली काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार मधेश प्रदेशका नेताहरूसँग जूम छलफलमा क्रममा सभापति थापाले सम्पूर्ण तह–तप्कालाई आ–आफ्नो स्तरबाट सहयोगको भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।
उनले देशमा सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए ।
उनले देशमा लागेको कुनै पनि हिंसा र द्वन्द्वको आगो निभाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसले सधैँ निभाएको बताए।
उनले भने, ‘हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, हामी जिम्ेमवार हो र, सम्हाल्ने काम हाम्रो हो । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो ।’
सभापति थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
उनले भने, ‘जुन कुरा आयो, जस्ताको त्यस्तै त्यसलाई पत्याइहाल्ने कुरा र त्यसको आधारमा धारणा बनाएर कमेन्ट गरी हाल्ने, टिप्पणी गरिहाल्ने, बोली हाल्ने, लेखी हाल्ने, भनी हाल्ने हामीले नगरौं ।’ सभापति थापाले सार्वजनिक रुपमा आएका विषयवस्तुलाई भावनामा बगेर हेर्न नहुने भन्दै तथ्य, प्रमाण र विवेकका आधारमा विश्लेषण गर्नुपर्ने बताए ।

प्रतिक्रिया