दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन १४ गते खटिएको प्रहरी टोलीले तुलसीपुर, बंगलाचुली र घोराहीका जंगलमा खोजतलास गर्दा बन्दुकहरू बरामद गरेको हो। बरामद भएका बन्दुकसँगै तिनमा प्रयोग हुने चार वटा फलामका छर्रा (गोली) समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वा सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक र चार वटा फलामका छर्रा बरामद गरिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–३ स्थित जनचेतना सामुदायिक वनबाट चार नाल र वडा नं. ६ स्थित लालिगुराँस सामुदायिक वनबाट आठ नाल गरी १२ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
यस्तै, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–२ स्थित राष्ट्रिय वनको झाडीबाट आठ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बरामद भएका सबै २१ नाल भरुवा बन्दुक र चार वटा फलामका छर्राबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया