जनकपुरधाम । धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भुइटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
कर्फ्यू अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनका अनुसार कर्फ्यू लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवा क्षेत्र, बेलौनी रोडस्थित एमक्यू स्टिलदेखि पेट्रोल पम्प र राष्ट्रिय प्राथमिक विद्यालय आसपास, नगराइन नगरपालिका–नगराइन चोक क्षेत्र तथा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिद आसपासका क्षेत्रमा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।


प्रतिक्रिया