काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहदेवले सुनसरीमा भएको सामुदायिक द्वन्द्व तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न भूभागमा फैलिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम राख्न आग्रह गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरी पूर्वराजाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपाललाई विश्वमा सम्मान दिलाएको बताएका छन् । उनले नेपाली समाजको यही विशिष्ट पहिचान र गौरवलाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
पूर्वराजाले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न स्थानमा फैलिँदा जनजीवन प्रभावित बनेकोप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल सामाजिक सद्भाव र समुदायबीचको सामञ्जस्यका लागि परिचित देश रहेको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य, मान्यता र परम्पराविपरीत भएको बताएका छन्।
सन्देशमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई आपसी मेलमिलाप, सद्भाव र एकताका साथ अघि बढ्न आग्रह गर्दै यही आजको आवश्यकता भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया