धार्मिक सद्भावलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सांसद मियाँको आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद मियाँले पछिल्लो समय देशका विभिन्न जिल्लामा विभिन्न घटना भइरहेका उल्लेख गर्दै देवानगञ्जको घटनाले देशलाई स्तब्ध बनाएको बताइन् ।

उनले भनिन्,‘विभिन्न जिल्लाहरूमा विभिन्न घटनाहरू घटे र त्यसमध्य पनि एउटा संवेदनशील घटनाले देशलाई स्तब्ध बनाएको छ । देवानगन्जको कप्तानगन्जमा भएको मुस्लिम र हिन्दू समुदायबिच द्वन्द्व मच्चियो । म सम्पूर्ण देशबासी र सम्पूर्ण राजनीतिक दललाई देशमा मिलेर बसेका दुईवटा धर्मका जातजतिहरुलाई आफ्नो राजनीतिक रोटी सेक्ने काम बन्द गर्नुहोस् ।’

मियाँले धार्मिक सद्भावलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबै राजनीतिक दललाई आग्रह गरिन् । उनले मुस्लिम र हिन्दु समुदायबीच उत्पन्न भएको द्वन्द्वप्रति दुःख व्यक्त गर्दै वर्षौंदेखि मिलेर बसेका दुई समुदायबीच विभाजन सिर्जना गर्ने गतिविधि रोक्न आग्रह गरिन् ।

‘तपाईँहरूले देशमा मिलेर बसेका दुईवटा सिधासाधा जनताहरूलाई लडाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने जुन कदम चाल्नु भएको छ त्यसप्रति म घोर आपत्ति जनाउन चाहन्छु,’ उनले भनिन् ।