अनुभव, नेतृत्व र स्पष्ट कार्ययोजनासहित नाट्टा निर्वाचनमा भण्डारी–ढकाल टिम


काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा पर्यटन व्यवसायीबीच चुनावी माहोल तातेको छ। अध्यक्ष पदमा युविका भण्डारी र महासचिव पदमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै अनुभव, संस्थागत नेतृत्व र स्पष्ट कार्ययोजनासहित आफ्नो टिमलाई नयाँ नेतृत्वका लागि बलियो विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

नाट्टा नेपालको निजी पर्यटन क्षेत्रको प्रमुख प्रतिनिधिमूलक संस्था भएकाले यसको नेतृत्वलाई पर्यटन नीति, हवाई यातायात, अन्तर्राष्ट्रिय बजार विस्तार, गन्तव्य प्रवद्र्धन तथा व्यवसायीका हितसँग जोडेर हेरिन्छ। त्यसैले आगामी निर्वाचनलाई नेपालको निजी पर्यटन क्षेत्रको भावी कार्यदिशा निर्धारण गर्ने अवसरका रूपमा लिइएको छ।

अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहँदै नाट्टामा सहकोषाध्यक्ष, सचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी अनुभवी नेतृत्व हुन्। संस्थाको प्रशासन, सदस्य व्यवसायीका समस्या, नीतिगत समन्वय र कार्यक्रम व्यवस्थापनमा हासिल गरेको अनुभवका आधारमा उनले नाट्टालाई अझ पारदर्शी, व्यवस्थित, आधुनिक र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेकी भण्डारी सांस्कृतिक सम्पदा संरक्षण, गन्तव्य विकास तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा पनि सक्रिय रहँदै आएकी छन्।

महासचिव पदका उम्मेदवार कृष्णप्रसाद ढकाल पर्यटनसँगै वित्तीय, कृषि, आतिथ्य, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यवसायी हुन्। उनी डिजायर नेपाल ट्रेक्स, ट्राभल एन्ड टुर्सका अध्यक्ष हुनुका साथै मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, सिद्धार्थ हस्पिटालिटी र मुक्तिनाथ फुड बैंकलगायत संस्थाका संस्थापक लगानीकर्ता तथा प्रवद्र्धक हुन्।

नाट्टाको बोर्ड सदस्यका रूपमा काम गरिसकेका ढकालले संस्थागत अनुभवलाई महासचिव पदको प्रमुख आधार बनाएका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनी इतिहासका शोधार्थी, अध्यापक तथा ३० भन्दा बढी देशको भ्रमण गरेका पर्यटन व्यवसायीसमेत हुन्।

भण्डारी–ढकाल टिमले सदस्यकेन्द्रित र उत्तरदायी सचिवालय, अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार, नयाँ गन्तव्य प्रवद्र्धन, युवा नेतृत्व विकास, व्यवसायीको क्षमता अभिवृद्धि तथा पर्यटन नीतिमा प्रभावकारी पैरवीलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।

पर्यटन व्यवसायीका अनुसार अहिलेको चुनौती पर्यटक संख्या बढाउने मात्र नभई डिजिटल प्रविधिको उपयोग, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी, हवाई यातायात सुधार र सरकारी नीतिनिर्माणमा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नु पनि हो।

यही आवश्यकतालाई मध्यनजर गर्दै भण्डारी–ढकाल टिमले अनुभव, संस्थागत निरन्तरता र नयाँ सोचको संयोजनमार्फत नाट्टालाई थप व्यावसायिक, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

आगामी निर्वाचनले नयाँ नेतृत्व चयनसँगै नेपालको निजी पर्यटन क्षेत्रको भावी प्राथमिकता र कार्यदिशा पनि तय गर्ने भएकाले व्यवसायीहरूको ध्यान उम्मेदवारको अनुभव, योगदान, नेतृत्व क्षमता र कार्यान्वयनयोग्य योजनामाथि केन्द्रित भएको छ।