एमालेसँगको तीन बुँदे सहमतिपछि मेटमणि चौधरीः अब चाहिँ सँगसँगै एकता गरेरै स्वर्ग र नर्क जानुपर्दछ


काठमाडौँ । प्रदेशमा सरकार संचालनका लागि नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिप्रति नेपाली कम्युनिष्ट पार्टी(नेकपा)भित्र असन्तुष्टि देखिएको छ ।

नेकपाका नेता मेटमणि चौधरीले दलहरु फेरि सत्ताकेन्द्रित गोलचक्करमा फसेको टिप्पणी गरेका हुन् । यो सहमतिले सत्ताको लागि जोसुकैसँग र जतिबेला पनि मिल्न सकिन्छ भन्ने बिषयलाई प्रमाणित गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ओलीको कार्यशैलीको विरोध गर्दै विद्रोहबाट नेपाली कम्युनिष्ट पार्टीको निर्माण भयो । प्रदेश सरकार निर्माणको लागि सहमतिपत्र अनुसार पुनः एक ठाँउमा भएका छौं । अर्थात् सत्ता केन्द्रित राजनीतिक गोलचक्करमा फंस्यो । सत्ताको लागि जोसुकैसंग र जतिबेला पनि मिल्न सकिन्छ भन्ने बिषयलाई प्रमाणित गरेका छौँ ।’

उनले अब कम्युनिष्ट एकता हुनुपर्ने र अब चाहिँ सँगसँगै एकता गरेरै स्वर्ग र नर्क जानुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्, ‘यसले परिणाम के दिन्छ त्यो बिषयमा अहिल्यै निष्कर्ष त ननिकालौँ तर नेकपा बनाउँदा कुनै व्यक्ति लक्षित गरिएका टिप्पणीहरू, कार्यकर्ताहरूकाबीचमा प्रस्तुत गरिएका शब्द र वाक्यको बिषय भने जहिले नि अनुत्तरित भइरहने भयो ! जो आज्ञा । कम्युनिष्ट एकता विरोधी भन्नुहोला तर होइन । एकता हुनुपर्दछ । अब चाहिँ सँगसँगै एकता गरेरै स्वर्ग र नर्क जानुपर्दछ ।’

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीका विषयमा शनिबार तीन बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । यस्तै, मधेश र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।