बर्लिन । जर्मनीको राजधानी बर्लिनमा शनिबार आयोजित क्रिस्टोफर स्ट्रिट डे (प्राइड) उत्सवका क्रममा एउटा सवारीसाधन भीडमा जोतिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना स्थानीय समयअनुसार राति करिब १० बजे ब्रान्डेनबर्ग गेट नजिकको टियरगार्टेन पार्क क्षेत्रमा भएको हो। तीव्र गतिमा आएको सवारीसाधनले भीडमा रहेका मानिसलाई ठक्कर दिँदै अघि बढेपछि रुखमा ठोक्किएर रोकिएको थियो।
घटनापछि सवारीसाधन खाली अवस्थामा फेला परेको र चालक फरार रहेकाले व्यापक खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा बर्लिनको इस्लामवादी समूहसँग सम्बन्धित एक व्यक्तिलाई शंकास्पदका रूपमा पहिचान गरेको छ। ती व्यक्ति अझै पक्राउ नपरेको र खोजी जारी रहेको जनाइएको छ।
दमकल विभागका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ भने तीमध्ये तीन जनाको अवस्था जीवन जोखिमपूर्ण रहेको छ।
प्रहरीका अनुसार घटनामा प्रयोग भएको सवारीसाधन सेतो रंगको कार, मिनिभ्यान वा मिनिबस हुन सक्ने अनुमान गरिएको छ। जर्मन पत्रिका बिल्डले प्रत्यक्षदर्शीलाई उदृत गर्दै चालक घटनापछि पैदल भागेको जनाएको छ।
घटनाअघि युरोपकै ठूलो एलजीबीटीक्यू अधिकारसम्बन्धी कार्यक्रममध्ये एक मानिने वार्षिक क्रिस्टोफर स्ट्रिट डे उत्सवमा लाखौं मानिस शान्तिपूर्ण रूपमा सहभागी भएका थिए। घटनापछि कार्यक्रम प्रभावित भएको थियो।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको छ। प्रत्येक वर्ष बर्लिनमा आयोजना हुने क्रिस्टोफर स्ट्रिट डे सन् १९६९ को न्यूयोर्कस्थित स्टोनवाल विद्रोहको सम्झनामा मनाइन्छ। यस कार्यक्रममा समानता, समावेशिता र विभेदविरुद्ध संरक्षणको मागसहित विभिन्न र्याली तथा कार्यक्रम आयोजना गरिन्छ।

प्रतिक्रिया