कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैनः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छायाँ बनाउन खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छायाँ बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ। अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’

सभापति थापाले बुधबार शेरबहादुर देउवा पक्षले आफूप्रति गालीगलौज गरेको भएपनि आफूले त्यसलाई वेवास्ता गरेको बताए ।

उनले भने, ‘हिजो बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ । त्यो सुन्नुभन्दा नसुन्नु नै उपयुक्त हुन्छ भन्ने ठानेर मैले बेवास्ता गरिदिएँ ।’

उनले पार्टी इलेक्सन मेसिन जस्तो भएको भन्दै पार्टी चुनावबाट बाहिर निस्कनुपर्ने बताए । उनले भने, ‘हामी चार जना कांग्रेस जम्मा भयौँ भने हाम्रो कुरा के भइहाल्छ अबको चुनावमा के हुन्छ ? हामी इलेक्सन मेसिन जस्तो भयौँ। त्यसबाट बाहिर निस्कनुपर्छ ।’

उनले पार्टी पंक्तिलाई एक पटक रिलबाट निस्किएर रियल लाइफमा फर्किन आग्रह गरे।’ उनले सोसाइटी र सिद्धान्तले पनि नमान्ने गठबन्धनको राजनीति कांग्रेसले नबोक्ने बताए।