काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन् ।
नेपालका वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा दुबै नेताले अतुलनीय योगदान पुर्याएको बताएका हुन् ।
उनले पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गरेका छन् ।
पुष्पलालले राजनीतिक आन्दोलनलाई मजदुर, किसान तथा आमजनताको जीवनसँग जोड्ने काम गरेको उल्लेख गर्दै शहीद गङ्गालाल श्रेष्ठबाट प्राप्त प्रेरणाले पुष्पलालले जीवनभर परिवर्तनका लागि सङ्घर्ष गरेको बताए ।
त्यसैगरी, बीपी कोइरालालाई बहुआयामिक तथा नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले दुबै नेताले आ–आफ्नो विचारधारा र भूमिकामार्फत मुलुकको रूपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको बताए । अध्यक्ष ओलीले दुबै शीर्ष नेताका आदर्श र कार्यबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू एक हुनुपर्ने पुष्पलालको नीति सुरुमा स्वीकार नभए पनि अन्ततः २०४६ सालको जनआन्दोलनको सफलताको आधार त्यही सहकार्य बनेको अध्यक्ष ओलीले स्मरण गरेका छन् ।
‘अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घदृष्टि, दूरदर्शिता र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ’, सन्देशमा अध्यक्ष ओलीले भनेका छन्– बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन् ।’

प्रतिक्रिया