लेखनाथको धार्मिक र प्राकृतिक वैभवसहितको भजन ‘लेखनाथको महिमा’ सार्वजनिक


पोखरा । पोखराको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त समृद्ध लेखनाथ क्षेत्रको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, सनातन धार्मिक आस्था र सामाजिक एकताको सन्देशलाई समेटेर तयार पारिएको नयाँ नेपाली भजन ‘लेखनाथको महिमा’ सार्वजनिक गरिएको छ। बेगनासताल भजन समूहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भजनले लेखनाथको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

स्थानीय कला, संस्कृति तथा धार्मिक पर्यटनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३१ को आर्थिक सहयोगमा भजन तथा यसको म्युजिक भिडियो निर्माण गरिएको हो। स्थानीय सम्पदा, संस्कृति र आध्यात्मिक पहिचानलाई संगीतमार्फत भावी पुस्तासम्म पुर्याउने उद्देश्यका साथ तयार पारिएको यस कृतिलाई लेखनाथ क्षेत्रको सांस्कृतिक दस्तावेजका रूपमा समेत हेरिएको छ।

भजनका शब्द हरिप्रसाद ढकालले रचना गरेका हुन् भने सञ्जीव फिल्मस्का सञ्जीव घिमिरे र सुशील थापाले निर्देशन तथा छायाङ्कन गरेका छन् । लामो समयदेखि लेखनाथ क्षेत्रका प्राकृतिक दृष्य, धार्मिक सम्पदा र पर्यटन प्रवद्र्धनका वृत्तचित्र तथा श्रव्यदृष्य सामग्री निर्माण गर्दै आएको सञ्जीव फिल्मस्ले यस भजनमार्फत पनि लेखनाथको मौलिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

भजनमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्चले गाउँदेखि लेखनाथका प्रसिद्ध सात तालहरु बेगनास, रुपा, खास्टे, निउरेनी लगायतका ताल तथा नदी–खोलाको मनोरम सौन्दर्यलाई कलात्मक शैलीमा चित्रण गरिएको छ। हिमालको काख, हरियाली वन, स्वच्छ जलाशय र जैविक विविधताले भरिपूर्ण लेखनाथको अनुपम प्राकृतिक सम्पदालाई भजनले विशेष स्थान दिएको छ।

त्यसैगरी ठुलाकोटको भैरवथान, चक्रदेवी मन्दिर, मनकामना, कालिका मन्दिर, शिशुवाको चन्द्रकाली, पचभैया र लामागाउँका गुम्बा, सीता गुफा, बेगनासकोट तथा तालबेसीस्थित जलेश्वर महादेव मन्दिरजस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूको महत्वलाई समेत भजनमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। बेगनासतालमा नियमित रूपमा सञ्चालन हुने साँझको आरती, माझीकुनाको रमणीय वातावरण तथा स्थानीय जनजीवनलाई भिडियोमा आकर्षक ढङ्गले समेटिएको छ।

भजनले लेखनाथको भौगोलिक विविधता, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको वर्णनमा मात्र सीमित नरही सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, पारिवारिक एकता, मानवीय मूल्य र राष्ट्रिय पहिचानको सन्देशसमेत प्रवाह गरेको छ। संगीतले भाषा, जात, समुदाय र भौगोलिक सीमाभन्दा माथि उठेर समाजलाई एकताबद्ध बनाउने सशक्त माध्यम भएको सन्देश भजनले दिएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आफ्नो जन्मभूमि, संस्कृति र मौलिक पहिचानसँग भावनात्मक रूपमा जोड्ने प्रयास पनि यसमा गरिएको छ।

स्थानीय सरकारको सहयोग, बेगनासताल भजन समूहको सक्रिय पहल तथा सञ्जीव फिल्मस्को प्राविधिक दक्षतामा तयार भएको ‘लेखनाथको महिमा’ भजनले लेखनाथलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीयवासीले पनि यस भजनले लेखनाथको समृद्ध इतिहास, संस्कृति, प्राकृतिक सम्पदा र आध्यात्मिक विरासतलाई भावी पुस्तासम्म पुर्याउँदै पर्यटन प्रवद्र्धन र स्थानीय पहिचान सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।