काठमाडौं । डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रमका बीच सुरुङ निर्माणको शुभारम्भ गरे ।
सो अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्वमा अघि बढेको यो आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि ‘कोशेढुङ्गा’ सावित हुने बताए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
मन्त्रालयकी सचिव सरिता दवाडीले स्थानीय समुदायको सकारात्मक सहयोगले आयोजना अघि बढाउन सहज भएको बताउँदै निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत स्वदेशी लगानी र स्थानीय सहभागिताको नमूना परियोजना भएको बताए । कम्पनीले १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कूल २३०.३५ मेगावाट क्षमताका दुई आयोजना विकास गरिरहेको उनको भनाइ थियो ।
आयोजनाले विद्युत् उत्पादन मात्र नभई कर्णाली र डोल्पाको भौतिक पूर्वाधारमा समेत ठूलो परिवर्तन ल्याएको छ । कम्पनीले भेरी नदीमा १०० मिटर लामो पक्की पुल र त्रिवेणी–मुड्केचुला खण्डमा १० वटा बेली ब्रिज निर्माण गरिसकेको छ ।
आयोजना सञ्चालनमा आएपछि सङ्घीय सरकारले वार्षिक करिब रु १९ करोड ५० लाख तथा कर्णाली प्रदेश र स्थानीय तहले जनही रु नौ करोड ५० लाख ‘रोयल्टी’ प्राप्त गर्ने अनुमान गरिएको छ । यस परियोजनामा सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहनेछ ।
परियोजनाको कूल ऋण लगानी करिब रु १६ अर्ब ६६ करोड स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), लक्ष्मी सनराइज बैँक, एभरेस्ट बैँक र एनआइसी एसिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया