लाओसबाट मान्यता खोज्दै मिन आङ ह्लाइङ


याङ्गुन। म्यान्माका पूर्वसैनिक शासक तथा हालका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आसियान सदस्य राष्ट्रको औपचारिक भ्रमणका लागि शुक्रबार लाओस पुगेका छन् । विश्लेषकहरूले यस भ्रमणलाई अन्तर्राष्ट्रिय मान्यता र क्षेत्रीय सम्बन्ध सुधार्ने उनको प्रयासका रूपमा व्याख्या गरेका छन् ।

सन् २०२१ मा सैनिक ‘कू’ मार्फत आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार हटाएर सत्ता आफ्नो नियन्त्रणमा लिएका मिन आङ ह्लाइङले त्यसयता पाँच वर्ष प्रत्यक्ष सैनिक नेतृत्वमा शासन गरेका थिए । सुकीको दलमाथि प्रतिबन्ध, विपक्षीमाथि दमन र विद्रोही प्रभाव रहेका क्षेत्रमा निर्वाचन रोकिएपछि उनी यसै वर्ष अप्रिलमा नागरिक राष्ट्रपतिको भूमिकामा आएका हुन् ।

राष्ट्रपतिको सूचना टोलीले सार्वजनिक गरेको विवरणअनुसार उनी आफ्नी पत्नी क्यू क्यू हलासहित शुक्रबार बिहान लाओस पुगेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनको राजकीय भ्रमण तीन दिनसम्म चल्नेछ ।

यस क्रममा उनले लाओसका राष्ट्रपति थोङ्लोन सिसोलिथ र प्रधानमन्त्री सोनेक्से सिफान्डोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको कार्यालयले दुवै देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले खुला र सौहार्दपूर्ण छलफल हुने जनाएको छ ।

नागरिक राष्ट्रपतिको पद सम्हालेपछि मिन आङ ह्लाइङको यो तेस्रो विदेश भ्रमण हो । यसअघि उनले भारत र चीनको भ्रमण गरिसकेका थिए । सैनिक ‘कू’ पछि म्यान्मालाई धेरैजसो गतिविधिबाट अलग राख्दै आएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) भित्र नयाँ प्रशासनसँगको सम्बन्धबारे अझै साझा धारणा बन्न सकेको छैन ।

केही सदस्य राष्ट्रहरूले ८१ वर्षीया आङ सान सुकीलाई जेलबाट नजरबन्दमा सार्ने निर्णयजस्ता कदमलाई सकारात्मक सङ्केतका रूपमा हेरेर संवाद पुनः सुरु गर्न इच्छुक देखिएका छन् । तर अन्य सदस्य राष्ट्रहरूले सन् २०२१ को सैनिक हस्तक्षेपका प्रमुख व्यक्ति अझै पनि सत्ताको केन्द्रमा रहेको तथ्यलाई ध्यानमा राख्दै सतर्क दृष्टिकोण अपनाइरहेका विश्लेषकहरूको भनाइ छ ।