डेनमार्क । डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ ।
पुरातत्त्वविद्हरूले यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको देखाएको बताएका छन् ।
मोएसगार्ड सङ्ग्रहालयका विशेषज्ञहरूले डेनमार्कको जुटल्यान्ड प्रायद्वीपस्थित सोफ्टेन क्षेत्रमा करिब एक लाख वर्गमिटर क्षेत्रमा फैलिएको विशाल बस्ती फेला पारेका हुन् । आरहुस सहरबाट करिब १० किलोमिटर उत्तरमा रहेको यो स्थल इस्वी संवत् ६०० देखि ९५० बीचको पछिल्लो फलाम युग र प्रारम्भिक भाइकिङ कालसँग सम्बन्धित मानिएको छ ।
उत्खननको नेतृत्व गरेकी पुरातत्त्वविद् लिभ स्टिडिङ रेहर–ल्याङबर्गले यो बस्तीमा कपडा उत्पादनको स्पष्ट केन्द्र रहेको बताइन् । उनका अनुसार उत्खननबाट धागो कात्ने उपकरण, करघाका तौल, कपडा उत्पादनका संरचना तथा ८० भन्दा बढी पिट हाउस फेला परेका छन् । अर्ध–भूमिगत ती संरचनाहरू भाइकिङ कालमा कार्यशाला र आवासका रूपमा प्रयोग गरिन्थे ।
पुरातत्त्वविद्हरूले चाँदीका सिक्का, काँचका मोती र विभिन्न भाँडाकुँडा समेत फेला पारेका छन् । उत्पादन तथा शिल्पका लागि छुट्टाछुट्टै क्षेत्र र एउटा मात्र आवासीय भवन भेटिएकाले सम्पूर्ण उत्पादन प्रणाली कुनै प्रभावशाली व्यक्ति वा समूहको नियन्त्रणमा रहेको अनुमान गरिएको छ ।
गत तीन दशकमा स्थानीय व्यक्तिहरूले मेटल डिटेक्टरमार्फत यस क्षेत्रमा धेरै चाँदीका सिक्का फेला पारेका थिए । डेढ वर्षअघि सडक तथा औद्योगिक क्षेत्र निर्माणअघि गरिएको परीक्षण उत्खननपछि पुरातत्त्वविद्हरूको विशेष चासो बढेको थियो ।
मोएसगार्ड सङ्ग्रहालयका इतिहासकार कास्पर एन्डरसनले सोफ्टेनको खोजले त्यस समयको स्थानीय अर्थतन्त्र, संस्कृति र राजनीतिक संरचना बुझ्न महत्त्वपूर्ण आधार थपेको बताए । उनका अनुसार त्यतिबेला आरहुस अन्तर्राष्ट्रिय व्यापार तथा शासकीय केन्द्रका रूपमा विकसित भइसकेको थियो ।
गत वर्ष नजिकैको लिस्बर्ज क्षेत्रमा भेटिएको अर्को भाइकिङ बस्ती सम्भवतः उच्च वर्गीय परिवारको आवास रहेको मानिएको छ । एन्डरसनका अनुसार सोफ्टेनजस्ता ग्रामीण बस्तीबाट उत्पादन गरिएका सामग्रीहरू ठूला व्यापारिक केन्द्रमा पुगेर अन्तर्राष्ट्रिय व्यापार सञ्जालमा समावेश हुने गर्थे ।
उनले यति ठूलो उत्पादन केन्द्र केवल स्थानीय आवश्यकताका लागि मात्र नभई फराकिलो बजारलाई लक्षित गरेर सञ्चालन गरिएको बताए । सोफ्टेनमा उत्पादित कपडाले स्थानीय सीमाभन्दा धेरै ठूलो व्यापारिक बजार प्राप्त गरेको उनको भनाइ छ ।
भविष्यमा गरिने कार्बन डेटिङ र पराग विश्लेषणबाट यहाँ कस्तो प्रकारको कपडा उत्पादन हुन्थ्यो भन्ने विषय अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।
सन् ७९३ देखि १०६६ सम्म फैलिएको भाइकिङ युगमा नोर्स समुदायले युरोपका विभिन्न भागमा व्यापार, उपनिवेश विस्तार, युद्ध र समुद्री यात्राहरू गरेका थिए । उत्तरी अमेरिकासम्म पुगेका भाइकिङहरूलाई प्रायः आक्रमणकारी समूहका रूपमा चित्रण गरिए पनि सोफ्टेनको यो खोजले उनीहरू व्यवस्थित उत्पादन, श्रम विभाजन र अन्तर्राष्ट्रिय व्यापारमा आधारित उन्नत समाज भएको पुष्टि गरेको पुरातत्त्वविद्हरूले बताएका छन् ।

प्रतिक्रिया