बाबुराम भन्छन्-मूसोलिनी र हिट्लरको उदय हुन खोजे हिजो ५० लाख तोकिएका यी टाउका चूप लागेर बस्ने छैनन्


डा. बाबुराम भट्टराई
रास्वपा महाधिवेशनमा मैले व्यक्त गरेका विचारहरूलाई लिएर विभिन्न कोणबाट आएका प्रतिक्रियाहरूप्रति मेरो ध्यानाकर्षण भएको छ! चिन्ता र चासो राख्नुहुनेहरू सबैप्रति आभारी छु । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनदेखि नै अब नयाँ युगको नयाँ कार्यभार सम्पन्न गर्न नयाँ अग्रगामी विचार सहितको वैकल्पिक राजनीतिक शक्ति चाहिन्छ भनेर आफ्नै रगतपसिनाले बनाएको पार्टी परित्याग गर्दै नयाँ अभियानमा होमिएको व्यक्ति हुनाले नयाँ शक्ति र दलहरूप्रति मेरो विशेष लगाव र दायित्व हुनु विल्कुल स्वाभाविक कुरा हो ।

त्यसैक्रममा चमत्कारिक ढंगले देशको प्रमुख शक्तिको रूपमा उदाएको रास्वपालाई आफुले जानेबुझेसम्मका सल्लाहसुझाव दिएर सहयोग गर्नु मेरो नैतिक दायित्व हो। मेरो कुरा सुन्नु नसुन्नु उहाँहरूको स्वेच्छा र अधिकार हो। यसमा कसैले टाउको दुखाइरहनु आवश्यक छैन। विशेषतः जेनजी विद्रोह र पछिल्लो आमनिर्वाचन पछि नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण भएकै हो। आफ्नो देशमा रोजीरोटीको व्यवस्था नभएर संसारका १७० बढी देशमा छरिन बाध्य युवाहरूले र देशभित्र रहेका हिमाल÷पहाड÷तराईका तिनका आफन्तहरूले पुराना राजनीतिक शक्तिहरूविरूद्ध सामुहिक आक्रोश ब्यक्त गरेकै हुन्। अनि नयाँप्रति आशाको नजरले हेरेकै हुन्।

यसलाई नबुझेर वा बुझ पचाएर नाना थरिका षड्यन्त्रका कथा बुनेर आत्मरति गर्नु पुराना पतनशील शक्तिहरूको नैसर्गिक चरित्र नै हो। आफ्ना सन्तानहरूको पालनपोषण गर्न नसक्ने नालायकहरूलाई छिमेकी र परचक्रीहरूले त हेपिहाल्छन् नि ! मैले अकबर–विरवलको कथामार्फत् त्यसैको स्मरण मात्र गराएको हुँ।

सत्तासीन नयाँ युवाहरूले एकैचोटि सबै राम्रै मात्र गर्लान् भन्न सकिन्न। जटील भूराजनीति, जर्जर अर्थतन्त्र, मक्किएको राज्य–प्रणाली एकातिर र अर्कोतिर जनताको असीमित आवश्यकता र चाहनावीचको अन्तरविरोध हल गर्नु त्यति सहज हुनेछैन। गल्तीकमजोरी हुनेछन् । तर एकैचोटी मूसोलिनी र हिट्लरको उदय हुनेछ भनेर आतंकित हुन वा पार्न आवश्यक छैन । भैहालेछ भने हिजो पचास लाख तोकिएका यी टाउका चूप लागेर बस्नेछैनन् ।

भारत (२०३६ साल), राजा (२०४३ ,२०४५ साल),कांग्रेस (२०५० साल),एमाले (२०५१ सालको ’भित्तेकाण्ड’) र प्रचण्ड माओवादी(२०७४ साल) सबैको दमन र जेल–थुना भोगेको सम्भवतः एकमात्र जीवित यो पात्र आजीवन सत्य र न्यायकोनिम्ति लडिरहनेछ ।