कोलम्बो । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् ।
राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्नेछन् ।
डेङ्गु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी, बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्रावसहित मृत्यु समेत हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यस वर्ष हालसम्म करिब ५० हजार सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको मृत्यु भएको छ । यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो । त्यतिबेला एक लाख ८६ हजार सङ्क्रमित र ४४० जनाको मृत्यु भएको थियो ।
डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे स्थिर पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने स्थान हटाउन विशेष ध्यान दिइएको छ । सरकारी विज्ञप्तिमा आफ्नो परिसरमा लामखुट्टे प्रजनन हुन दिनेहरूमाथि कानूनी कारबाही कडाइका साथ लागू गरिने उल्लेख छ ।
सरकारले बुधबारदेखि देशव्यापी सरसफाइ तथा प्रजनन स्थल नष्ट गर्ने अभियान सुरु गर्ने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनका कारण डेङ्गुजस्ता लामखुट्टेजन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ ।
श्रीलङ्कामा जुन महिनाको सुरुदेखि नै सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ र केही दिनमा मात्र दैनिक एक हजारभन्दा बढी नयाँ केसहरू दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबाबमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ ।
डेङ्गु युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पतालहरू पहिले नै दबाबमा रहेको उल्लेख गर्दै सन् २०१७ जस्तो भयावह अवस्था दोहोरिन नदिन तत्काल नियन्त्रण आवश्यक रहेको बताइन् ।
मनसुनी वर्षा, हालैको बाढी र पानी जम्ने स्थानहरूको वृद्धि कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ ।

प्रतिक्रिया