सिंहदरबारबाट छेउमै रहेको संसद नजाने प्रधानमन्त्री बालेन साह चितवनचाहिँ पुग्नेछन्..


विजयकुमार पाण्डे ।

रवि लामिछानेले ४ वर्ष अघि घण्टी चुनाव चिन्ह भएको एउटा दल स्थापना गर्दा पत्याउने थोरै, हाँस्ने र अप्राकृतिक अवरोध गर्ने धेरै थिए । विशेषतः मुख्य राजनीतिक दलका नेताकार्यकर्ता र केही मिडियाहरू । समयले सबैलाई समतल बनाइदिन्छ।
जितको मात, अहंकार, अराजकता र संवैधानिक प्रावधानप्रति लज्जास्पद बेवास्ताले कुनै पनि सरकारलाई लामो आयु दिन सक्दैन। रास्वपा पनि यो नियमको अपवाद हुन सक्दैन।

जुन संविधान नेपालमा लागू छ, त्यसमा पार्टीले सरकार बनाउने हो, न कि सरकारले पार्टी चलाउने हो । मैले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएदेखि लेख्दै आएको छु– ‘ डायनासोरलाई कसैले पराजित गरेको होइन, आफ्नै पुच्छरको भार (weight) टाउको र शरीरभन्दा धेरै भएकाले हलचल गर्न नसकेर त्यो प्रजाति सखाप भएको हो।‘

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपा सभापति रवि लामिछानेले चितवनबाट दूरगामी महत्वको सन्देश दिएका छन्– ‘रास्वपा लोकतन्त्र, संविधान, जनअधिकार, सुशासन र विकासप्रति कटिबद्ध छ। यी विषयमा कुनै सम्झौता हुने छैन।’ एउटा सुखद आश्चर्य के छ भने– आफूलाई लोकतन्त्रको मसीहा ठान्ने दशकौँ पुरानो दल नेपाली कांग्रेस महिनौँदेखि आफ्नो महाधिवेशनको रडाको र खुराफातमा व्यस्त रहेको बेला ४ वर्षअघि स्थापना भएको रास्वपाले महाधिवेशनको भव्य आयोजना गर्दैछ।

अनि, सिंहदरबारबाट छेउमै रहेको संसद नजाने प्रधानमन्त्री बालेन साह, चितवनचाहिँ पुग्नेछन् । समयले सबैथोकलाई समतल बनाइदिन्छ। शनिबार भएको भए देश बनाउने टोलीसँग म पनि जिस्किन्थेँ, तर आज आइतबार हो।
अन्त्यमा, रास्वपाका नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तक सबैमा प्रथम महाधिवेशनको शुभकामना ।