कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?


कुन्दनराज काफ्ले

पार्टीमा निरन्तर काम गरेका साथीहरूले सदस्यता नवीकरण गरिसक्नुभएको छ । मैले पनि पहिले नै गरेको थिएँ । नियोजित रुपमा गरिएको विषेश अधिवेशनको नेतृत्त्व आएपछि अद्यावधिका नाममा धेरै नै रडाको मच्चायो । म यो कथित अद्यावधिका पक्षमा छैन र यो गरेको पनि छैन तर मेरो पनि अद्यावधि भयो भनेर समाजिक सञ्जालमा राखेको देखेँ त्यो सरासर झुठ र फेक हो । मेरो जस्तै गरी अरुको पनि अद्यावधि भयो भनेर सफेद झुठको खेती भएको मैले बुझेँ ।

आमचुनाव आइरहेको सन्दर्भमा पार्टीका थुप्रै साथीहरूलाई बाहिर राखेर विषेश अधिवेशनको नाटक रचियो । साथीहरूमा अपमानको डण्डा बर्साईयो । जिल्ला तहसम्मका पार्टी प्रतिनिधिलाई विभाजन गरेर बेमौसमी काममा उत्तेजित बनाइयो । आम चुनावको प्रतिकूल परिस्थितिमा पार्टीभित्रै अझ प्रतिकूलता सृजना गरियो । चुनावमा पार्टीलाई निकै दुर्बल बनाएर अस्तित्त्व नै संकटमा पारियो । चुनावकै मुखमा पार्टीमा जवरजस्त विभेद खडा गरियो । पार्टीलाई सागरमा पिण्ड दिने अवस्थामा पुर्याउन खोज्ने कथित नेतृत्त्वलाई आम कार्यकर्ताले भने प्रश्नै गर्न नपाउने रे, यो कस्तो लोकतन्त्र हो ? अनि कस्तो लोकतान्त्रिक पार्टी बनाउन खोजिँदै छ ?

त्यसरी नै आउँदै गरेको स्थानीय र प्रदेशसभाको चुनावका बेला पार्टीमा विभाजन ल्याउने गरी तल्लो तहसम्म अद्यावधिका नाममा साथीहरूमा वैमनस्यता सिर्जना गर्ने काम भएको छ । चुनावमा साथीहरू बीच एकता र सद्भाव विकास गर्नुपर्ने ठाँउमा यस्ता वाईघात कुरा गराएर पार्टीलाई कमजोर मात्र होइन अझ तल धस्ने काम भएको छ । जम्माजम्मी झुठ र नौटङ्कीमा मात्र विश्वास गर्ने नेतृत्वबाट भरोसा सृजना हुन सक्दैन । पार्टीका आम साथीहरू, पार्टी बचाउने काममा जुटौं । केवल भ्रमको खेती गरेर काँग्रेसमा पुनर्जागरण आउँदैन ।

तल्लो तहका साथीहरूमा एकता र पुनर्जागरणको सन्देश प्रवाह गर्ने ठाँउमा विभाजन र निरासा छरेर पार्टीलाई सिध्याउने काममा जुटेका कथित नेतृत्त्वलाई खवरदारी गरौँ । स्वाभिमान कार्यकर्ताले मात्र पार्टी बलियो हुन्छ । डर देखाएर र लोभमा पारेर पारेर नक्कली धन्दा चलाएर पार्टी हाँक्न सकिँदैन । पार्टीका साथीहरूबीच मनमुटाव गराएर यसको ऐतिहासिक दायित्वलाई कुल्चेर दिशाहिन र गतव्यहिन बनाएर पार्टीलाई निकै अप्ठेरो अवस्थामा पुर्याउने तत्त्वदेखि सचेत रहन देशैभरका साथीहरूमा अपील गर्दछु ।