पुलिसलाई राष्ट्रिय महिला फुटबलको उपाधि


बुटवल । दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबले संकटा फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनलमा पुलिसका तर्फबाट खेलको दोस्रो हाफको आठौं मिनेटमा सम्झना लावतीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको सात मिनेट सकिएको संकेत गर्दै सिठ्ठी फुक्नासाथ दुवै टिमका खेलाडी मैदानभित्र एकापसमा भिड्न पुगेका थिए ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ नेपाल पुलिस क्लबकी स्कोरर सम्झना लावती भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् । उपाधि विजेता पुलिस क्लबले सिल्ड, प्रमाणपत्रसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता संकटाले नगद १ लाख २५ हजार रुपैयाँसहित कप तथा प्रमाणपत्र पायो । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौंडा र आयोजक बीस पचहत्तर युवा क्लब सहभागी थिए ।