विपक्षीको अवरोध र विरोधकाबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो ।

अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहेनन् । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री साह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गरेनन् । कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिएका थिए ।

सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरे ।

सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।