पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार पोखरामा पार्टीको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानुन मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सनकका भरमा निजी क्षेत्रसँग व्यवहार गर्दै गए अर्थतन्त्रमा यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
उनले भने, ‘राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ । निजी क्षेत्रभित्र पनि गलत काम भएका होलान्, त्यसैले त कानुन चाहिन्छ, राज्य चाहिन्छ । न्याय, विवेक र करूणाका लागि पनि राज्य चाहिन्छ। तर मैले हिजो समाचार पढ्दै थिएँ– एउटा मन्त्रीजीलाई दुइटा निजी क्षेत्रका मानिससँग कुराकानी गर्न आवश्यक पर्यो, प्रहरी लगाएर उठाएर ल्याइदिने ? जसलाई मन लाग्यो त्यसलाई उठाइदिने ? यही तरिकाले सरकारले निजी क्षेत्रसँग व्यवहार गर्ने हो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’
उनले निजी क्षेत्र पनि कानुनले बाँधिएको र केही परे कानुनअनुसार अघि बढ्नुपर्ने बताए । गल्ती गरेकालाई कानुनबमोजिम कारबाही गरे कांग्रेसले विरोध नगरेको र नगर्ने बताए ।

प्रतिक्रिया