काठमाडौं । नेकपा एमालेका सचेतक ऐनबहादुर महरले संसद र संविधानप्रति सरकार उत्तरदायी बन्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था शहीदहरूको बलिदान र संघर्षबाट प्राप्त भएको उल्लेख गरेका हुन् ।
उनले वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा अन्य कुनै तन्त्र विकास गर्न खोजिरहेको हो भन्दै प्रश्न गरे । महरले प्रधानमन्त्री बालेन साहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न लागेको हो कि भन्ने आशंका रहेको बताए ।
उनले भने, ‘अहिलेको सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भए बमोजिम भएको शासन प्रणालीलाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली ? अरु कुनै तन्त्र विकास गरिरहेको हो ? प्रधानमन्त्री बालेन साहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न लागेका हुन् की भन्ने आम प्रश्न र जिज्ञासा चलिरहेको छ । किनभने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदलाई अपमान गर्ने काम भएको छ, यसप्रति हाम्रो गम्भिर चासो र चिन्ता हो ।’
उनले सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सरकारको मुख्य नीति तथा कार्यक्रम प्रस्तुत हुने बेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो कुरामा हामी दृढ छौं । सरकार संसद र संविधानप्रति उत्तरदायी बन्नुपर्दछ । संसदप्रति जवाफदेही बन्नु पर्दछ । त्यो जवाफदेही बन्ने बेला भनेको सरकारको मुख्य नीति तथा कार्यक्रमको बेला हो । यहीबेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने हो ।’

प्रतिक्रिया