काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताइन् ।
उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन । उहाँबाट जवाफदेहीता खोजेका हौं ।’
ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित गएकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।
उनले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको टिप्पणी समेत गरिन् । प्रधानमन्त्री सदनप्रति अनिच्छुकभएको र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको उनको आरोप छ ।
उनले बेदको प्रसंग उल्लेख गर्दै भनिन्, ‘वैदिक सभ्यतादेखि संसदसम्मः संवाद, सहमति र सामूहिक निर्णय नै लोकतन्त्रको आत्मा हो। संसद त्यो स्थान हो जहाँ राज्यशक्ति र जनताबीचको सम्बन्ध प्रत्यक्ष संवादबाट मात्रै जिवित रहँदछ। ऋग्वेदको नवम मण्डल, ९२ औं सूक्तको छैटौँ मन्त्र र अथर्ववेदको सातौँ काण्डका १२ र १३ सूक्तहरूमा ‘सभा’ र ‘समिति’ को ठूलो महत्त्व उल्लेख गरिएको पाइन्छ। यी संस्थाहरूलाई केवल प्रशासनिक संरचना मात्र होइन, समाजको चेतना र निर्णय प्रक्रियाको केन्द्रको रूपमा प्रस्तुत गरिएको छ। सभालाई र समितिलाई प्रजापतिकी ‘छोरी’ भनेर प्रतीकात्मक रूपमा व्याख्या गर्नुको अर्थ हाम्रो परम्पराले संवाद, छलफल र सामूहिक निर्णयलाई केवल सामाजिक अभ्यास होइन, एक पवित्र र नैतिक मूल्यको रूपमा स्थापित गरेको देखिन्छ। यसले देखाउँछ कि वैदिक कालदेखि नै हाम्रो सभ्यतामा सहभागिता र सहमतिमा आधारित शासनको बीउ रहेको छ।’

प्रतिक्रिया