काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको खोजी गरेका हुन् ।
नीति तथा कार्यक्रमबारे सांसदहरुको जवाफ दिने कार्यसूची रहेको दिन संसदमा प्रधानमन्त्री नदेखिएपछि राईले प्रधानमन्त्रीको खोजी गरेका हुन् ।
उनले भने, ‘मैले प्रधानमन्त्री देखेको छैन । नीति तथा कार्यक्रमकाबारेमा प्रश्नको जवाफ दिने कार्यसूची देखेका छौँ । प्रधानमन्त्रीलाई सदनमा हामीले देख्न सकेनौँ । सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखको हो । हजुर हाम्रो नायक हो । तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाउन हार्दिक अनुरोध गर्दछु ।’
त्यसैगरी उनले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा पराजुलीले न्यायाधीशहरूको विषयमा बोलेको भन्दै राईले आलोचना गरे ।
उनले भने, ‘महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारुढ दलकै एक वरिष्ठ माननीयज्यूले गरिमामय सदनको रोस्ट्रममा उभिएर दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्याएर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा १०५ पढ्नुभएन कि?’
पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै धम्कीको भाषा बोलेका थिए ।
उनले यस्तो विषयमा बोल्दा सभामुखले रोक्नुपर्ने बताए । राईले भने, ‘मेरो प्रश्न उहाँ संविधान भन्दा माथि हो ? के सत्तारुढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ? कोही माननीयज्यू आउने, रोस्ट्रममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलुटुलु हेरेर बस्न मिल्दैन ।’

प्रतिक्रिया