राष्ट्रिय आर्चरीमा नेपाल पुलिस क्लब च्याम्पियन


कास्की । देशको पर्यटकीय राजधानी पोखरामा १३औँ संस्करणको राष्ट्रिय आर्चरी च्याम्पियनसीप सम्पन्न भएको छ । नेपाल आर्चरी सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा यही वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगिताको सोमबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

पुलिसले समग्रमा पाँच स्वर्ण, चार रजत र तीन कास्यपदक जित्दै च्याम्पिन बनेको हो । यसैगरी, अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब चार स्वर्ण, एक रजत र दुई कास्यपदकसहित द्वितीय हुन सफल भयो ।

एपिएफ क्लब दुई स्वर्ण, एक रजत र तीन कास्यपदक जित्दै तेस्रो स्थानमा सीमित भयो । आयोजक नेपाल आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनका अनुसार घरेलु टोली गण्डकी प्रदेश भने एक स्वर्ण, छ रजत र पाँच कास्यपदकसहित चौथो स्थानमा छ ।

प्रतियोगिताको ‘रिकर्भ’ पुरुष व्यक्तिगततर्फ नेपाल पुलिस क्लबका तिलक पुनले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका आशिम शेरचनले रजत तथा खड्गबहादुर घर्तीमगरले कास्य पदक हात पारे ।

‘रिकर्भ’ महिला व्यक्तिगततर्फ नेपाल आर्मीकी ज्ञानु आवालेले स्वर्ण पदक जितिन् । नेपाल पुलिसकी देविकला राईले रजत तथा एपिएफकी सोनु जया राईले कास्यपदक जितिन् ।

‘रिकर्भ पुरुष टिम इभेन्ट’मा नेपाल पुलिस क्लब प्रथम, गण्डकी प्रदेश दोस्रो तथा एपिएफ क्लब तेस्रो भयो भने रिकर्भ महिला टिम इभेन्टमा नेपाल आर्मी क्लब प्रथम, एपिएफ क्लब दोस्रो तथा गण्डकी प्रदेश तेस्रो स्थानमा रह्यो ।

‘कम्पाउण्ड’ पुरुष व्यक्तिगततर्फ नेपाल पुलिस क्लबका अनिसुध श्रेष्ठले स्वर्णपदक जिते । गण्डकीका सुमन गुरुङले रजत तथा आर्मीका पवन राईले कास्यपदक जिते भने महिलातर्फ एपिएफ क्लबकी निर्मला काम्बाङले स्वर्णपदक जितिन् । मोनिका रानाले रजत तथा एपिएफकी प्रसादा आचार्यले कास्यपदक जितिन् ।

यसैगरी ‘कम्पाउण्ड’ पुरुष टिम इभेन्टमा एपिएफ क्लब प्रथम भयो भने नेपाल पुलिस क्लब दोस्रो र गण्डकी प्रदेश तेस्रो स्थानमा रह्यो । ‘स्ट्यान्डर्ड’ पुरुष व्यक्तिगततर्फ गण्डकी प्रदेशका रामबहादुर घर्तीमगरले स्वर्णपदक जिते ।

नेपाल पुलिसका निक्षेश देशारले रजत तथा कृष्ण भण्डारीले कास्यपदक जितेका छन् । ‘स्ट्यान्डर्ड’ महिलातर्फ नेपाल आर्मी क्लबकी सारदा विकले स्वर्णपदक जितिन् । गण्डकीकी स्नेहा केसीले रजत तथा नेपाल पुलिसकी बबिता श्रेष्ठले कास्यपदक जितिन् ।

‘स्ट्यान्डर्ड पुरुष टिम इभेन्ट’तर्फ नेपाल पुलिस क्लब प्रथम, गण्डकी प्रदेश दोस्रो तथा नेपाल आर्मी क्लब तेस्रो भयो । स्ट्यान्डर्ड मिक्स टिम इभेन्टमा नेपाल पुलिस क्लब प्रथम, नेपाल आर्मी क्लब दोस्रो तथा गण्डकी प्रदेश तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा विभागीय टोली तथा विभिन्न प्रदेशका गरी ५६ जना खेलाडीको सहभागिता थियो ।