काठमाडौँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले न्यायाधीश नियुक्ति प्रक्रियामा फेरबदल आवश्यक रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत लालले विभिन्न समयमा सर्वोच्च अदालतमा पार्टीका कार्यकर्ता भर्ती गरेको कुरा स्पष्ट देखिएकाले अब त्यसलाई रोक्न नियुक्ति प्रक्रियामै फेरबदल आवश्यक रहेको बताएका हुन् । उनले न्यायपालिकाको निष्पक्षता तथा स्वच्छताको लागि पनि यो आवश्यक रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपालका राजनीतिक पार्टीका केही शक्तिशाली नेताहरूले, आफ्नो स्वार्थ साधन गर्नको लागि समय समयमा पार्टीका कार्यकर्ता रहेकाहरूलाई समेत, सोझै सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरी गराई न्यायपालिकालाई राजनीतिकरण गर्ने प्रयास गरेका कुराहरू, लुकेको वा छिपेको छैन। त्यसकारण न्यायपालिकाको निष्पक्षता तथा स्वच्छताको साथ–साथ अन्य विकृति तथा विसंगतिहरू समेतमा सुधार गर्न, सबै तहका न्यायाधीशहरूका नियुक्तिको प्रक्रियामा आवश्यक परिमार्जित व्यवस्था हुन अनिवार्य भएको देखिन्छ।’
संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई छाडेर चौथो नम्बरका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि यतिबेला यो विषयका पक्ष र विपक्षमा बहस भइरहेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश सिफारिसमा सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
उनले न्यायाधीशलाई महाभियोगको धम्कीबाट बिचलित नभई न्याय सम्पादनमा खरोरुपमा उत्रिन समेत न्यायाधीशहरुलाई आग्रह गरेकी छन् । यसअघि वरीयताका आधारमा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने गरेकोमा यसपटक भने प्रधानमन्त्री बालेन साहले चौथो नम्बरका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेका छन् ।

प्रतिक्रिया