काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक भागबण्डामा न्याय सम्भव नहुने बताएका छन् । कानुन दिवसमा अवसरमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नभएको बताएको प्रसंग उल्लेख गर्दै मिश्रले गलत अभ्यास अन्त्य गर्न गलत नजीर बसाएर न्याय सम्भव नहुने बताएका हुन् ।
उनले आफूलाई ठिक लाग्दा पूर्णतः असंवैधानिक कदमको बचाऊ गर्ने र ठिक नलाग्दा संवैधानिक कदमको पनि तिब्र विरोध गर्ने प्रवृत्तिमा पनि न्याय सम्भव नभएको उल्लेख गरेका छन् । मिश्रले राजनीतिकर्मी र न्यायाधीशहरूको गोप्य भेटघाट र साँझ–बिहान ह्वाट्एप संवादमा न्याय सम्भव नहुने बताएका छन् । उनले भनेका छन्, ‘परिस्थितिजन्य संवेदनशीलताको वोधबिनाको सुनियतबाट न्याय संभव छैन । व्यक्तिगत रिस, तुस र बदलाभावमा न्याय सम्भव छैन । संवैधानिक परिषदमा प्रधान न्यायाधिस स्वयं बसेर गरेको निर्णय सर्वोच्चमा प्रधानन्यायाधीशकै नेतृत्वको संवैधानिक इजलासले उल्टाउने सक्ने व्यवस्थामा न्याय संभव छैन।’
उनले देशको होइन, व्यक्ति, गुट वा पार्टीको राष्ट्रप्रमुख हुने देशमा न्याय नभएको बताएका छन् । मिश्रले भनेका छन्, ‘आफ्नो एउटा रेस्टुराँ चलाउँदा चाहिँ सक्षम म्यानेजर, सक्षम कुक, सक्षम वेटर चाहिने अनि देश चलाउने निकायहरूमा चाहिँ समावेशिता र सक्षमताको बीचमा सन्तुलन कायम नगर्ने राजनीतिमा न्याय सम्भव छैन । देशको होइन, व्यक्ति, गुट वा पार्टीको राष्ट्रप्रमुख हुने देशमा न्याय संभव छैन । व्यक्तिगत विचारभन्दा तल देशलाई राख्ने देशमा न्याय संभव नै छैन।’

प्रतिक्रिया