काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन ।
बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो ।
नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पूजा महत्तो र कविता कुँवरले समान ८÷८ रन जोडे । बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए ।

प्रतिक्रिया