मङ्गलबारे (इलाम)। मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो। मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए। पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए। यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए।
मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे। पथरीका सुजल डङ्गोलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे। खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए। उनले रु आठ हजार एक नगद र ट्रफी प्राप्त गरे।
बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ। यही वैशाख १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ। विजेताले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउने छ।

प्रतिक्रिया