प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीसँग कर्णाली नौ विकेटले पराजित


वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ । मंगलबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो ।

कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए । त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे । गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्मा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो । गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुमे्रले १८ बलमा २२ रन जोडेका थिए । कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए ।

आजको खेलमा गण्डकी प्रदेशका विपिन खत्री ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ ।