धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठमाडौँका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडी युमी, फोफोना, पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पीतर, जेन जिदे र मदन स्याङत्नले गोल गरेका थिए ।
शनिबारको खेलमा ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङ घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार तामाङलाई नगद पाँच पुरस्कार प्रदान गरिएको छ ।
उपाधिका लागि भोलि पथरी–११ फुटबल क्लब मोरङ र आरटी एफसी मलेसियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद दुई लाखसहित ट्रफी हात पार्नेछन् ।

प्रतिक्रिया