छैटौैँ कटारी गोल्डकपमा सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात


उदयपुर । उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक कटारीले विजयी सुरुवात गरेको हो ।

खेलमा कटारीका लागि पहिलो हाफको सात मिनेटमा निराजन सुनुवारले गोल गर्दै कटारीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँच मिनेटमा कटारीका क्याप्टेन प्रताप राईले गोल गर्दै कटारीका लागि गोल सङ्ख्या दुई पुर्याएका हुन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दी म्याच कटारीका क्याप्टेन राई घोषित भएका छन् । उनलाई नगद रु पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिएको थियो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछन् ।

आठ वटा टिम सहभागी प्रतियोगिता आगामी ५ वैशाखमा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष दीपक राईले बताएका छन् । प्रतियोगितामा आज जष्ट जोह्रन एफसी नाइजेरिया र हेटौँडा फुटबल क्लब मकवानपुरले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा कटारी, सिक्किम, नाइजेरिया, हेटौँडाका साथै चात्या सिएफसी झापा, च्याम्पियन ब्वाइज काठमाडौँ, केराबारी फुटबल क्लब मोरङ र शलेस युथ क्लब सिरहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।