काठमाडौं । संस्कृत सम्मेलनमा उत्कृष्ट विद्यार्थीलाई नारायणी तुलसीराम, भोजराज ढकाल स्मृति पुरस्कार प्रदान गरिएको छ । बिहीबार नेपालको आध्यात्मिक राजधानी तथा संस्कृत शिक्षाको प्रमुख केन्द्रका रूपमा परिचित देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल संस्कृत आयाम कार्य अन्तर्गत तेस्रो राष्ट्रिय संस्कृत सम्मेलनमा पुरस्कार वितरण गरिएको हो ।

संस्कृत भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा देशभरका विद्वान्, साधुसन्त, शिक्षाविद् तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुरलीधर शर्मा दाहाल उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा स्वामी अमृतानन्द गिरी, स्वामी सच्चिदानन्द सरस्वती लगायतका आध्यात्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी पुरस्कारका प्रायोजक दामोदर ढकाल, नेपाल संस्कृत विश्वविद्यालय का पूर्व उपकुलपति रमेश शर्मा ढकाल, परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्की, राष्ट्रिय संगठन सचिव रमेश कंडेल, राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, आमन्त्रित सदस्य डा. गोपिनाथ कण्डेल तथा संस्कृत आयाम कार्यका राष्ट्रिय संयोजक अभिमन्यु ढुङ्गाना लगायतको विशेष उपस्थिति रहेको थियो।

सम्मेलनमा संस्कृत भाषा शिक्षाको वर्तमान अवस्था, यसको संरक्षणका चुनौतीहरू तथा भावी रणनीतिका विषयमा गहन छलफल गरिएको थियो । सहभागी वक्ताहरूले संस्कृत शिक्षालाई व्यवहारिक, आधुनिक र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यसको प्रवद्र्धनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले संस्कृत भाषा र संस्कृतिको जगेर्ना तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया