काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप सुदृढ र संगठित बनाए वर्तमान चुनौती तथा धक्काबाट माथि उठ्न सकिने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उद्देश्य बोकेर अघि बढेको पार्टीलाई विभिन्न समयमा धक्का लाग्न सक्ने भएपनि त्यसबाट निराश हुन नहुने बताएका हुन् ।
अध्यक्ष ओलीले देश विकासको अभियानमा अघि बढिरहेको एमालेलाई विकास हुन नदिने शक्तिहरूले अवरोध सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गर्दै पार्टी पंक्ति फराकिलो सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले देशमा प्रतिगमनका प्रवृत्ति देखिएको र पार्टीले पनि विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सानातिना विवादमा अल्झिनुको सट्टा संगठनलाई बलियो बनाउँदै अघि बढेमा एमाले फेरि उभिन सक्ने र विगतभन्दा अझ सशक्त बन्न सक्ने विश्वास व्यक्त गरे।
उनले शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्दै समाजमा आदर्श व्यक्तित्वका रूपमा स्थापित हुनुपर्ने बताए। गलत आचरण त्याग्दै पवित्रता, शुद्धता, कम्युनिष्ट संस्कार, शालीनता र विनम्रता प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया