भिएना । युरोपेली सङ्घ (इयु) भित्र महिलाविरुद्धको हिंसा अझै पनि गम्भीर र व्यापक समस्याका रूपमा रहेको नयाँ प्रतिवेदनले देखाएको छ । इयुको अधिकारसम्बन्धी एजेन्सीले सार्वजनिक गरेको अध्ययनअनुसार करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसाको अनुभव गर्ने गरेको पाइएको छ । प्रतिवेदनले लैङ्गिक हिंसालाई ‘व्यापक, डिजिटल माध्यमबाट झन् तीव्र र संस्थागत रूपमा बेवास्ता गरिएको’ चेतावनी दिएको छ ।
युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए) ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार युरोपभरिका ३०.७ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारीरिक र÷वा यौन हिंसाको सामना गरेको बताएका छन् । अध्ययनले घरेलु तथा साझेदारसँग सम्बन्धित हिंसा अझै गम्भीर रहेको देखाएको छ । प्रत्येक १० मध्ये एक महिलाले आफ्नो जीवनमा कम्तीमा एकपटक पार्टनरबाट शारीरिक चोट भोगेको बताएका छन् भने १७.२ प्रतिशतले बलात्कारसहित यौन हिंसा वा अन्य यौन आक्रमणको अनुभव गरेको उल्लेख गरेका छन् ।
एफआरए, युरोस्ट्याट र लिथुआनियास्थित युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी –इआइजिई) ले संयुक्त रूपमा सञ्चालन गरेको यस अध्ययनले डिजिटल प्रविधिको विस्तारसँगै हिंसाको स्वरूप पनि परिवर्तन भएको औँलयाएको छ । प्रतिवेदनअनुसार ८.५ प्रतिशत महिलाले साइबर स्ट्याकिङको सिकार भएको बताएका छन् । सर्वेक्षणमा सहभागी १०.२ प्रतिशत महिलाले आफ्नो स्थान निगरानी गरिएको वा घनिष्ठ साथीले डिजिटल माध्यमबाट पछ्याएको अनुभव साझा गरेका छन् ।
अध्ययनले महिलाविरुद्धको अधिकांश हिंसा अझै पनि व्यापक रूपमा कम रिपोर्ट हुने गरेको र सम्बन्धित निकायहरूले पर्याप्त रूपमा सम्बोधन नगरेको देखाएको छ । केवल ६.१ प्रतिशत महिलाले आफ्ना पार्टनरबाट भोगेको शारीरिक वा यौन दुव्र्यवहार अधिकारीसमक्ष उजुरी गरेका थिए । गैर–पार्टनरबाट आक्रमण भएको अवस्थामा पनि उजुरी दर ११.३ प्रतिशत मात्र रहेको पाइएको छ । उजुरी नगर्नुका कारणका रूपमा लाज, डर, आत्मदोष र प्रहरीप्रति विश्वासको कमी उल्लेख गरिएको छ ।
एफआरएका निर्देशक सिर्पा राउटिओले विज्ञप्तिमार्फत भने, ‘जब दुव्र्यवहारलाई सामान्य, लुकेको वा बेवास्ता गरिएको अवस्थामा छोडिन्छ, त्यसले अधिकार संरक्षणमा प्रणालीगत असफलता देखाउँछ ।’ उनले हिंसा रोकथाम, पीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्नु सदस्य राष्ट्रहरूको स्पष्ट दायित्व भएकोमा जोड दिए ।
यो अध्ययन सन् २०१४ मा गरिएको प्रारम्भिक सर्वेक्षणपछि एफआरएद्वारा गरिएको दोस्रो प्रमुख अनुसन्धान हो । सर्वेक्षणका लागि सन् २०२० सेप्टेम्बरदेखि २०२४ मार्चसम्म १८ देखि ७४ वर्ष उमेर समूहका एक लाख १४ हजारभन्दा बढी महिलासँग अन्तर्वार्ता लिइएको थियो । केही देशमा सहभागीहरूले आफूलाई महिलाका रूपमा आत्मपहिचान गर्न सक्ने व्यवस्था गरिएको थियो, जसका कारण ट्रान्स महिलाहरूलाई पनि सहभागी हुन अनुमति दिइएको जनाइएको छ, यद्यपि यसबारे थप विवरण दिइएको छैन ।
यसअघि सन् २०११ मा इयुले महिलाविरुद्ध हिंसा रोकथाम तथा नियन्त्रणका लागि इस्तानबुल महासन्धि अपनाएको थियो । तर बुल्गारिया, चेक गणतन्त्र, हङ्गेरी, लिथुआनिया र स्लोभाकियालगायत पाँच सदस्य राष्ट्रले उक्त महासन्धिको मुख्य प्रावधान अनुमोदन गर्न अस्वीकार गरेका छन् । नयाँ प्रतिवेदनले नीति निर्माण र कार्यान्वयनमा अझ सशक्त तथा समन्वित कदम चाल्न आवश्यक रहेको सङ्केत गरेको छ ।

प्रतिक्रिया