मध्यपूर्वमा सहयोग र उद्धारको आवश्यक परेका नेपालीलाई विवरण अद्यावधिक गर्न सरकारको आग्रह


काठमाडौं । इरान आक्रमणपछि मध्यपूर्वमा विकसित घटनाक्रमका कारण अलपत्र नेपालीको विवरण संकलन तथा सहयोगका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

इजरायल–अमेरिका र इरानबीचको हवाई हमलापछि मध्यपूर्वी देशहरूमा रहेका नेपालीका लागि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणमा विभिन्न मुलुकहरुबाट नेपाल फर्किने सिलसिलामा यूएईको एयरपोर्टमा अलपत्र भएका र यूएईको भिसा समाप्त भई वा कम्पनीमा भिसा रद्द गरी नेपाल फर्किन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेक नेपाली नागरिकहरुलाई उक्त पोर्टलमार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरिएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायत देशमा रहेका नेपालीका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो । यसरी अनलाइन पोर्टलमार्फत जानकारी दिएपछि सम्बन्धित निकायले समन्वय गरी आवश्यक सहयोग गर्न सकिने छ ।