हर्मुज जलमार्गनजिक जहाजमाथि आक्रमणपछि विश्व बजरमा तेल मूल्य वृद्धि


बीबीसी । हर्मुज जलमार्ग नजिक कम्तीमा तीन जहाजमाथि आक्रमण भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। अमेरिका र इजरायली आक्रमणको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रहार जारी राखिरहेका बेला उक्त घटना भएको हो ।

युके मारिटाइम ट्रेड अपरेशन (यूकेएमटीओ) का अनुसार दुई जहाजमा अज्ञात प्रक्षेप्यबाट प्रहार भएका छन् भने तेस्रो जहाजको अत्यन्त नजिक विस्फोट भएको छ। जहाजहरूको पहिचान खुलाइएको छैन । विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलमार्ग प्रयोग नगर्न इरानले चेतावनी दिएको छ।

त्यसपछि जलमार्गको प्रवेशद्वार क्षेत्रमा अन्तर्राष्ट्रिय ढुवानी प्रायः ठप्पजस्तै बनेको छ। विश्लेषकहरूले द्वन्द्व लम्बिए ऊर्जा मूल्य अझै बढ्न सक्ने बताएका छन् ।

सोमबार एसियाली प्रारम्भिक कारोबारमा तेल मूल्य १० प्रतिशतभन्दा बढीले उक्लिएको छ । तर केही विश्लेषकहरूले दीर्घकालीन द्वन्द्व भएमा तेल मूल्य प्रतिब्यारेल १०० डलर नाघ्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार ओपेक समूहले दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने सहमति जनाएको छ। समूहमा साउदी अरेबिया र रुसलगायतका प्रमुख उत्पादक देश समावेश छन्। यद्यपि यस कदमले मूल्यवृद्धि नियन्त्रणमा सीमित प्रभाव पार्न सक्ने विज्ञहरूको भनाइ छ।

इरानको इस्लामिक रिभुलसनरी गार्ड कर्पस (आईआरजीसी) ले बेलायत र अमेरिकासम्बद्ध तीन ट्यांकरमा मिसाइल प्रहार भएको दाबी गरेको छ। यसबारे बेलायत र अमेरिकाले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
जहाज ट्रयाकिङ प्लेटफर्म क्लेपरका अनुसार १५० भन्दा बढी ट्यांकर हर्मुज बाहिर खुला समुद्री क्षेत्रमा एंकर हालेर बसेका छन् ।