इरानद्वारा यूएईमा ५४१ वटा ड्रोन प्रहार, एक नेपालीसहित ३ जनाको मृत्यु


अबुधाबी । संयुक्त अरब इमिरेट्समा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ज्यान गुमाउने तीन जनामध्ये एक जना नेपाली नागरिक रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणमा ५८ जना घाइते भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक रहेका छन् । यूएई सशस्त्र बलका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, दुई वटा क्रुज क्षेप्यास्त्र र ५४१ वटा इरानी ड्रोन प्रहार गरिएकोमा अधिकांशलाई अवरोध गरी नष्ट गरिएको छ।

तीमध्ये १५२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरिएको र १३ वटा समुद्रमा खसेका छन् । आक्रमणको दोस्रो दिन बिहान मात्र २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र ध्वस्त पारिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, दुई वटा क्रुज क्षेप्यास्त्र र ३११ वटा ड्रोन पनि सोही अवधिमा नष्ट गरिएको छ ।

कुल ५४१ ड्रोनमध्ये ५०६ वटा अवरोध गरी नष्ट गरिएको र ३५ वटा देशभित्र खसेर भौतिक क्षति पुर्याएको जनाइएको छ। २१ वटा ड्रोनले सर्वसाधारणका संरचनालाई निशाना बनाएको मन्त्रालयले उल्लेख गरेको छ ।

रक्षा मन्त्रालयका अनुसार बहुविध हवाई आक्रमणको सामना गर्न यूएईको वायुसेना र हवाई प्रतिरक्षा प्रणाली प्रभावकारी सावित भएको छ। क्षतिको मूल्यांकन कार्य जारी रहेको र घाइते तथा प्रभावित स्थानबारे थप विवरण सार्वजनिक गरिएको छैन।