इरानका सर्वोच्च नेता खामेनेई मारिएका ट्रम्पको दाबी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी–इजरायली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका बताएका छन् ।

ट्रम्पले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरि धेरै मानिसका निम्ति’ ‘न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले बमबारी ‘जारी रहने भन्दै ‘इरानी जनताका लागि ‘उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको’ टिप्पणी गरेका छन् ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पछिल्लो विकासक्रम भएको हो। यसअघि इजरायलले सातजना इरानी अधिकारीहरूलाई मारिदिएको बताएको थियो। तर त्यसमा खामेनेईबारे केही भनिएको थिएन ।

अमेरिका र इजरायलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ । दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ । अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन् । दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो ।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ । इजरायलसँग सीमा जोडिएको जोर्डनले उसका सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ ।

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको“ भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।

इरानको फार्स न्यूज एजेन्सीले सर्वोच्च नेताको कार्यालयस्थित ‘सुसूचित स्रोतहरू’लाई उदृत गर्दै जनाएअनुसार आक्रमणमा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना मारिएका छन् । फार्सले ‘खामेनेईकी एकजना बुहारी पनि मारिएकी आफूलाई जानकारी गराइएको’ उल्लेख गरेको छ ।

इजरायली र अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूको नाम उल्लेख नगरी खामेनेई जीवित नरहेकामा अब कुनै आशङ्का नरहेको बताएका छन् । तर इरानी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्। इरानको सरकारी टेलिभिजनमा एक प्रस्तोताले खामेनेईको नाम उल्लेख नगरी ‘शत्रुहरूको मनोवैज्ञानिक झूटा प्रचारबाजीलाई इरानी जनताले अस्वीकार गर्ने’ बताए।