इरानको विद्यालयमा गरिएको आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु


तेहरान । इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीले जनाएका छन् ।

यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बिर सार्वजनिक गरेका थिए ।

अराघचीले भने, ‘यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो । यो ठाउँमा मात्रै दर्जनौं निर्दोष बालबालिकाको हत्या भएको छ । इरानी जनतामाथि भएका यी अपराधको जवाफ दिइनेछ ।’

आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो ।