बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा राखेको आठ मिनेट लामो भिडिओमार्फत् त्यसो भनेका हुन् ।
अमेरिकाले ’महत्त्वपूर्ण युद्ध कारबाही’ थालेको उनले बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकाले ‘बारम्बार सहमति गर्न खोजेको थियो। हामीले निकै प्रयास गर्यौँ; उनले भने, ‘हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ। त्यो पूरै नष्ट हुनेछ।’
यसअघि इजरायली तथा अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले अमेरिकासँग समन्वय गरेर इरानमाथि हमला गरेको जनाएका थिए ।
सीएनएनले अमेरिकासँगको समन्वयमा इजरालले हमला गरेको उल्लेख गरेको थियो। इजरायलको वाइनेट न्यूजले पनि त्यसै भनेको थियो । इरानका सञ्चारमाध्यमहरूले त्यहाँका विभिन्न सहरहरूमा विस्फोटन भएका सुनिएको जनाएका छन् ।
फार्स समाचार एजेन्सीले इस्फाहान, कोम, कराज र केर्मानशाह सहरहरूमा विस्फोटनका आवाज सुनिएको जनाएको छ । राजधानी तेहरानको युनिभर्सिटी स्ट्रीट तथा रिपब्लिक इलाकाहरूमा कैयन् क्षेप्यास्त्रहरू प्रहार भएको समाचार संस्थाले जनाएको छ ।
इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार पनि तेहरानका दुईवटा ठाउँमा विस्फोटन भएको सुनिएको छ। सहरको मध्ये भागमा आकासमा धूवाँको मुस्लो देखिएको उसले जनाएको छ । इजरायलले उसको हवाई क्षेत्र नागरिक उडानहरूका निम्ति बन्द गरिदिएको छ ।
शनिबार बिहान इरानमा हमला गरेपछि हवाई क्षेत्र बन्द गरिएको इजरेली सञ्चार माध्यमहरूले बताएका छन् । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग जोडिएको तस्नीम न्यूज एजेन्सीले इरानको हवाई क्षेत्र पनि निषेधित गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया