पाकिस्तानद्वारा अफगानिस्तानविरुद्ध ‘खुला युद्ध’ घोषणा


काबुल । पाकिस्तानले अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई तथा स्थल आक्रमण गरेको छ । पाकिस्तानका रक्षा मन्त्रीले विकसित अवस्थालाई ‘खुला युद्ध’ को संज्ञा दिएका छन् ।

पाकिस्तानी सुरक्षा स्रोतहरूका अनुसार सीमाक्षेत्रका विभिन्न स्थानमा रहेका तालिबान पोस्ट, मुख्यालय र हतियार भण्डारण स्थलहरूमा हवाई तथा स्थल कारबाही गरिएको हो ।

दुवै पक्षले ठूलो क्षति भएको दाबी गरेका छन्, तर सार्वजनिक गरिएका तथ्यांकहरूमा व्यापक अन्तर देखिएको छ र स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

‘हाम्रो धैर्यताको सीमा समाप्त भएको छ। अब यो हाम्रो र अफगानिस्तानबीच खुला युद्ध हो,’ पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफले भनेका छन् ।

२,६०० किलोमिटर लामो अफगान–पाकिस्तान सीमामा लामो समयदेखि जारी तनावबीच यो आक्रमणले द्वन्द्व झन् चर्किने संकेत देखिएको छ ।

इस्लामाबादले काबुलमाथि पाकिस्तानभित्र आक्रमण गर्ने उग्रवादीहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। तालिबानले भने उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा समस्या आन्तरिक विषय भएको बताएको छ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुल, कन्धार र पक्टिया क्षेत्रमा पाकिस्तानी हवाई आक्रमण भएको पुष्टि गरेका छन्।

पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेको भिडियोमा सीमाक्षेत्रमा राति भएको गोलीबारीका दृश्य र भारी तोपखानाको आवाज सुनिन्छ। काबुलमा आक्रमणपछि बाक्लो कालो धुवाँ उठेको र केही स्थानमा आगलागी भएको देखिएको छ।

पाकिस्तान सरकारका प्रवक्ता मोशर्रफ जैदीले सामाजिक सञ्जाल एक्समा लेख्दै अफगानिस्तानभित्रका लक्ष्यहरूमा ‘प्रतिआक्रमण जारी’ रहेको बताएका छन्।

उनले यसलाई ‘उत्तेजनाविहीन अफगान आक्रमणको जवाफ’ भनेका छन्। पाकिस्तानी पक्षले १३३ अफगान तालिबान लडाकु मारिएका र २०० भन्दा बढी घाइते भएका दाबी गरेको छ। साथै २७ पोस्ट ध्वस्त पारिएको र नौ वटा नियन्त्रणमा लिएको जनाएको छ ।

तालिबानका अनुसार भने ५५ पाकिस्तानी सैनिक मारिएका छन् र १९ पोस्ट कब्जा गरिएको छ। साथै आठ तालिबान लडाकु मारिएको, ११ घाइते भएको र नंगरहार प्रान्तमा १३ सर्वसाधारण घाइते भएको बताइएको छ।