काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ’तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई अपील गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्तरुपमा अपील जारी गरी यस्तो बताएका हुन् ।
वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको निष्कर्ष निकाल्दै पार्टीले चुनाव प्रणालीमै परिवर्तन गर्ने उद्घोष गरेको छ। कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता निम्तिएको भन्दै कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ ।
त्यसैगरी, जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानलाई खारेज गर्ने अतिवादी सोचलाई परास्त गर्दै, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट पार्टीले लिएको छ। नेकपाले अहिले जनताले सुशासन र पारदर्शिता अनुभूति नगरेको बताएको छ ।
उसले भनेको छ, ‘भ्रष्टाचार, कमिसनखोरी, अपारदर्शिता र ढिलासुस्ती क्यान्सरजस्तै फैलिरहेको छ । संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन । हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा हो ।’
त्यसैगरी उसले एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पदधारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताएको छ ।



प्रतिक्रिया