प्रचण्डले रञ्जित तामाङलाई भने-दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनु


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सघाउने हल्लामा सत्यता नभएको बताएका छन् ।

बिहीबार झापा ५ का नेकपाका उम्मेदवार रञ्जित तामाङलाई नै फोन गरी हल्लामा सत्यता नभएको बताएका हुन् । तामाङलाई फोन गर्दै प्रचण्डले भने, ‘हामी सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । हल्लाहरु शतप्रतिशत गलत हुन् ।’

उनले तामाङलाई भ्रममा नपर्न पनि आग्रह गरेका छन् । प्रचण्डले भने, ‘ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस्, मन्त्री बनाउँछु।’ फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन साह उम्मेदवार छन् । एमाले अध्यक्ष ओलीलाई जिताउन नेकपाले सहमति गरेको भन्दै हल्ला चलाइएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् । तामाङले निर्वाचनअघि कसैसँग गठबन्धन नहुने, बरु निर्वाचनपछि भने दलहरुबीच गठबन्धन गर्न सकिने बताएका छन् ।