महान्यायाधिवक्ताको कार्यालयले ‘वासिङ्ग मेसिन’को रूपमा काम गर्नु न्याय मर्नु सरह होः एमाले


काठमाडौं । नेकपा एमालेले निर्वाचनअघि सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कफ्र्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी एमालेले जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार सम्मेलनमा एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले निषेधाज्ञा र कफ्र्युले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताए ।

त्यसैगरी उनले महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनमा आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको उपहास भएको बताए ।

उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने अर्थात् ’वासिङ्ग मेसिनको रूपमा काम गर्नु न्याय मर्नु सरह हो ।’

उनले संसद विघटन प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने बताए । संसद विघटन संवैधानिक परीक्षणमा नलानु संवैधानिक सर्वोच्चतालाई स्थापित गर्ने मान्यताबाट गम्भीर ढङ्गले विचलित भएको उनले बताए ।

त्यसैगरी एमालेले निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यमबाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दैआपत्ति जनाएको छ। यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको उनले बताए ।