काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबार झापामा चुनावी अभियानका क्रममा सभापति लामिछानेले निवर्तमान सभामुख घिमिरेप्रति आक्रोश पोखेका थिए । उनले संसदमा जनताको आवाज बोल्द माइक काटेको भन्दै आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘मैले यहाँ एउटै कुरा भन्नेपर्छ, मलाई थाहा छैन पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ थाहा छैन । हामीले संसदमा भिजिट भिसामा लाखौँ रुपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऔँ, समिति बनाऔँ भन्यौँ, हामीले जनताको आवाज बोल्यौँ तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख त्यो माइक काटिदिनुभयो ।’
त्यसपछि विज्ञप्ति जारी गरी निवर्तमान सभामुख घिमिरेले लामिछानेले घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाएको भन्दै त्यो चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने बताएका छन् ।
प्रेस नोट
विर्तामोडमा आज रवि लामिछानेजीले ’जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर म विरूद्ध घृणा फैलाउने काम गर्नुभएछ । लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन् । घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन ।
जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्ने÷काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।
संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ– मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।
रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु– ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’ तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपील गर्दछु ।
झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले मैले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदछु ।
१२ फागुन २०८२
देवराज घिमिरे
निवर्तमान सभामुख
बिर्तामोड, झापा

प्रतिक्रिया