सैन्य कारबाहीमा मेक्सिकोका सर्वाधिक खोजीका लागुऔषध तस्करको मृत्यु


बीबीसी । मेक्सिकोका सर्वाधिक खोजीसूचीमा रहेका लागुऔषध कारोबारी जलिस्को न्यु जेनेरेसन कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा सर्भान्तेस उर्फ ‘एल मेन्चो’ सैन्य कारबाहीका क्रममा मारिएका छन् ।

मेक्सिकोको रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो । रक्षा मन्त्रालयका अनुसार पक्राउ गर्न सञ्चालन गरिएको विशेष सुरक्षा अपरेशनका क्रममा उनका समर्थक र सेनाबीच भीषण झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका एल मेन्चोको राजधानी मेक्सिको सिटी लगिँदै गर्दा मृत्यु भएको हो ।

केन्द्रीय–पश्चिमी जलिस्को राज्यको टापाल्पा सहरमा भएको कारबाहीमा सिजेनजीका चार सदस्य मारिएका छन् भने तीन जना सैनिक घाइते भएका छन् । उक्त अपरेशनमा अमेरिकाले उपलब्ध गराएको सूचनाले सहयोग पुगेको जनाइएको छ ।

यसैबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम पार्दोले सर्वसाधारणलाई शान्त रहन आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत देशका अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको बताएकी छन् ।

५९ वर्षीय पूर्व प्रहरी अधिकारी एल मेन्चोले ठूलो आपराधिक सञ्जाल सञ्चालन गर्दै कोकिन, मेथाम्फेटामिन र फेन्टानिलजस्ता लागुऔषध अमेरिकामा तस्करी गर्दै आएका थिए। उनलाई पक्राउ गर्न सहयोग पुग्ने सूचना दिनेलाई अमेरिकी विदेश मन्त्रालयले १५ मिलियन डलर पुरस्कार घोषणा गरेको थियो।

रक्षा मन्त्रालयका अनुसार उक्त कारबाही विशेष फौजले योजनाबद्ध रूपमा सञ्चालन गरेको हो। अपरेशनमा मेक्सिकन वायुसेना र नेशनल गार्डसमेत परिचालन गरिएको थियो। कारबाहीका क्रममा रकेट लञ्चरसहितका हतियार र बख्तरबन्द सवारीसाधन बरामद गरिएको जनाइएको छ ।