काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा आसन्न निर्वाचन प्रचार–प्रसारका क्रममा रास्वपाको सभामा नेकपा एमालेको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ ।
संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार विज्ञप्ति जारी गरी दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएकोमा आपत्ति जनाएका हुन् । उनले राजनीतिक असहमतिलाई अराजकता वा अपमानमा रुपान्तरण गर्नु लोकतान्त्रिक मर्यादाको उल्लङ्घन भएको भन्दै सबै मातहत कमिटीहरुलाई शान्तिपूर्ण बिरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।
उनले यस घटनामा रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेको छ । उसले यसलाई बेवास्ता गरे र यस्ता गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ । बिहीबार दाङमा रास्वपा कार्यकर्ताले एमालेका झण्डा जलाउँदै घण्टीका पक्षमा र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी लोकतान्त्रिक समाजका पक्षधर हौं । हामी विरोध सहन्छौं, आलोचना स्वीकार्छौँ तर अवरोध, अराजकता र उच्छृङ्गलता कदापि स्वीकार्य छैन । यस्ता अराजकता र आपराधिक गतिविधिको सशक्त प्रतिरोध गरिनेछ । राष्ट्रिय युवा संघ नेपाल अन्याय गर्दैन र सहँदैन । नेकपा (एमाले) को झण्डा न्यायको झण्डा हो, परिवर्तनको झण्डा हो, प्रगतिशील रूपान्तरणको झण्डा हो, समावेशी लोकतन्त्रको झण्डा हो, लोकतान्त्रिक गणतन्त्रको झण्डा हो । लाखौं कार्यकर्ताको आस्था, त्याग र बलिदानले उचालिएको हाम्रो झण्डालाई च्यात्ने, जलाउने र पार्टी नेतृत्वप्रति भ्रमपूर्ण, कपोलकल्पित आक्षेप लगाउने कार्य अत्यन्त खेदजनक छ । यस्ता गम्भीर राजनीतिक उच्छृङ्खलताको हामी घोर निन्दा, भ्रत्र्सना खेद प्रकट गर्दछौं ।’
संघले यस्ता अपराधीलाई कानुनी कठघरामा ल्याउन र अराजकता नियन्त्रण गर्न सरकारसमक्ष माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको आवरणमा अराजकता फैलाउने, समाजलाई भड्काउने, अश्लील गालीगलौज गर्ने र राजनीतिको अपराधीकरण बढाउने गतिविधि पूर्णतः अस्वीकार्य छन् । यस्ता गतिविधिको राज्यपक्ष मुकदर्शक भएर बस्नु अत्यन्त आपत्तिजनक विषय हो । अपराधीलाई कानुनी कठघरामा ल्याउन र अराजकता नियन्त्रण गर्न वर्तमान सरकार समक्ष जोडदार माग गर्दछौं । राष्ट्रिय युवा संघ नेपालले हरेक प्रकारका अराजकता, उद्दण्डता र आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउने र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्दै तह लगाएको तथ्य जगजाहेर छ । सामाजिक सद्भाव बिथोल्ने, द्वेष फैलाउने र पार्टीको झण्डामाथि प्रहार गर्ने जस्ता गतिविधि असह्य छन् । यस्ता कार्यको राष्ट्रिय युवा संघ नेपाल डटेर प्रतिवाद गर्नेछ।’


प्रतिक्रिया