बीबीसी । बेलायतका राजा चाल्र्सका भाइ एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई प्रहरीले रिहा गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा उनलाई बिहीबार पक्राउ गरिएको थियो ।
थेम्स भ्याली प्रहरीले एन्ड्रयुलाई ‘अनुसन्धानमै रहने गरी’ रिहा गरिएको जनाएको छ । यसअघि प्रहरीले दिवंगत यौन अपराधी जेफ्री एपस्टिसँगको सम्बन्ध र गोप्य सामग्री साझेदारीसम्बन्धी आरोपका आधारमा एन्ड्र्युबारे अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो ।
अमेरिकी सरकारले सार्वजनिक गरेको फाइलहरूमा दुवैबीचका सञ्चार विवरण समावेश छन् । एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी छन् ।
प्रहरीका अनुसार ‘गहन मूल्याङ्कन’ पछि औपचारिक अनुसन्धान सुरु गरिएको हो । यो यौन अपराधसम्बन्धी आरोपसँग सम्बन्धित नरहेको स्पष्ट पारिएको छ ।
एन्ड्र्युले सन् २००१ देखि २०११ सम्म बेलायतका व्यापार दूतका रूपमा काम गरेका थिए। हालै सार्वजनिक कागजातहरूमा उनले सन् २०१० मा सरकारी भ्रमणसम्बन्धी प्रतिवेदन तथा लगानीसम्बन्धी जानकारी एप्स्टिनलाई पठाएको संकेत गरिएको छ।
आधिकारिक निर्देशिकाअनुसार व्यापार दूतहरूलाई संवेदनशील, व्यावसायिक वा राजनीतिक जानकारी गोप्य राख्ने दायित्व हुन्छ । एन्ड्र्युले भने सधैं कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन् । यो प्रकरणमा विश्वका दर्जनौँ शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया