इरानविरुद्ध अमेरिकाले सैन्य कदम चाल्नेबारे १० दिनभित्र विश्वले थाहा पाउँछः ट्रम्प


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता हुने वा अमेरिकाले सैन्य कदम चाल्ने भन्नेबारे ‘सम्भवतः आउँदो १० दिनभित्र’ विश्वले थाहा पाउने बताएका छन् ।

वाशिङ्टन डीसीमा आयोजित आफ्नो शान्ति बोर्डको पहिलो बैठकमा उनले इस्लामिक गणतन्त्रसँग उसको आणविक कार्यक्रमबारे भइरहेको वार्ताका सन्दर्भमा भने, ‘हामीले अर्थपूर्ण सम्झौता गर्नैपर्छ, नत्र परिणाम राम्रो नहुन सक्छ।’

हालैका दिनमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। यद्यपि स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको छलफलमा केही प्रगति भएका विवरणहरू पनि सार्वजनिक भएका छन्।

यसैबीच, डेमोक्रेटिक पार्टीका सांसदहरू र केही रिपब्लिकन सदस्यहरूले कङ्ग्रेसको अनुमतिबिना इरानमा हुन सक्ने सैन्य कारबाहीको विरोध गरेका छन् ।

ट्रम्पले आफ्नो वक्तव्यमा विशेष दूत स्टिभ विटकफ र ज्यारड कुश्नरले इरानसँग “धेरै राम्रा बैठकहरू“ गरेको पनि उल्लेख गरेका छन्। कुश्नर ट्रम्पका ज्वाइँ हुन्।

ट्रम्पले भने, ‘इरानसँग अर्थपूर्ण सम्झौता गर्न सजिलो छैन भन्ने वर्षौँदेखि देखिएको छ।’ त्यसको एक दिनअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले इरानले अमेरिकासँग सम्झौता गर्नु ‘धेरै बुद्धिमानी’ हुने चेतावनी दिँदै ट्रम्प अझै पनि तेहरानको आणविक कार्यक्रमबारे कूटनीतिक समाधानको आशा गरिरहेको बताएकी थिइन्।

ट्रम्पले शान्ति बोर्डको घोषणा गर्दा यसलाई गाजामा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न सहयोग गर्ने र पुनर्निर्माणको निगरानी गर्ने उद्देश्यले गठन गरिएको ठानिएको थियो।

तर पछिल्लो एक महिनामा यसको उद्देश्य केवल एक द्वन्द्वसम्म सीमित नभएर व्यापक भएको देखिएको छ। करिब दुई दर्जन देशहरू समेटिएको तथा ट्रम्पको अध्यक्षता रहेको उक्त बोर्डले संयुक्त राष्ट्रसङ्घलाई पछाडि पार्ने उद्देश्य राखेको हो कि भन्ने प्रश्न धेरैले उठाएका छन्।

गत वर्षको जुनमा अमेरिकाले इरानका तीन परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। यसै साता ह्वाइट हाउसले आक्रमणका नयाँ विकल्पहरूबारे छलफल गरिरहेको विवरणहरू सार्वजनिक भएका थिए।